माझी जातिले प्रत्येक वर्ष मनाउने कोसी पूजाका अवसरमा आयोजना गरिएको डुंगा दौड प्रतियोगितामा बराहक्षेत्र ६ का जीवन माझी र चन्द्रबहादुर माझीको समूह विजेता भएको छ।
प्रतियोगितामा सहभागी २६ टिमलाई उछिन्दै उनीहरुको समूहले ३ मिनेट १६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएका थिए।
यस्तै बराहक्षेत्र २ का मुन्नेश्वर बहरदार र सुन्दर बहरदाको समूहले ३ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए। बराहक्षेत्र ६ का भेषबहादुर माझी र धनकुटाका लालकुमार राईको समूहले ३ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे।
सन्त्वना स्थानमा बराहक्षेत्र ६ का विशाल माझी र ७ का सूर्य माझीले ३ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । विजेतालाई मंगलबार आयोजना हुने लदिपूजा समारोहमा पुरस्कृत गरिने संघका सचिव गुन्जमान माझीले जानकारी दिए।
प्रथम,दोस्रो,तेस्रो र सन्त्वना हुने सहभागीले क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने छन्।
विजेताको प्रमाणपत्र भने उनीहरुलाई सोमबार नै प्रदान गरिएको थियो।
कोसी नदीको पूजा आरधना गरी अन्नबाली, पेशा,व्यवसाय र सन्तानको सुख,शान्ति, समृद्धि र आरोग्यताको कामना गर्दै माझी समुदायले यो पर्वलाई विषेश मनाउने गरेका छन्।
बराहक्षेत्रको वडा नं २-७ सिमना सिसौली घाटमा पहिलो पटक परम्परागत डुंगा दौड प्रतियोगिता आयोजना गरिएको हो।
माझी जातिको प्राचीन पर्व कोसी पूजा अर्थात लदि पूजाको पूर्व सन्ध्यामा नेपाल माझी संघ जिल्ला कार्यसमितिको आयोजना जिल्लास्तरीय खुला डुंगा दौड प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगिताको निर्णायक मण्डलीमा शुक्रराज माझी,ताराबहादुर माझी र घनश्याम माझी रहेका थिए।