नेपालभरिका वनको एक अध्ययनले रुखका प्रजातिहरूको विविधताभन्दा तिनीहरूको लम्बाइ र घनत्वले वनको कार्बन सोस्न सक्ने क्षमता निर्धारण गर्ने देखाएको छ।
लु डेल बेलो
काठमाडौं- कार्बन संचितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरको मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षरोपण परियोजनामा विभिन्न प्रजातिका चाँडै हुर्कने बिरुवाहरू रोपिन्छन्। केही समयपछि ती बिरुवाहरू एउटै लम्बाइका हुन पुग्छन्।
तर, हालै आएर नेपालमा कार्यरत एक टोलीले विभिन्न प्रजातिका थुप्रै रुख रोप्नुको सट्टा होचा र अग्ला रुखहरूको समिश्रण गरिएमा वनको कार्बन भण्डारण गर्न सक्ने क्षमता अझ बढाउन सकिने सुझाव दिएको छ।
कुनै पनि वनको कार्बन सोस्न सक्ने क्षमताका लागि त्यसका कुन-कुन गुण महत्त्वपूर्ण हुन्छन् भन्ने अध्ययन गर्न नर्वेको बर्गेन विश्वविद्यालय र काठमाडौंस्थित फरेस्ट एक्सनका अध्येताहरूले नेपालका पहाडी क्षेत्रमा रहेका ६ वटा संरक्षित र असंरक्षित क्षेत्रहरूमा छरिएका पाँच सय ३० वटा प्लट जग्गामा फैलिएका वनको विश्लेषण गरेका थिए। उनीहरूले वनमा रहेको जैविक विविधतासँगै रुखका आकारहरूको पनि अध्ययन गरेका थिए।
‘हामी वनले कसरी कार्बन सोस्ने गर्छ र वनलाई कार्बन सोस्न के ले मद्दत गर्छ भन्ने जान्न चाहन्थ्यौँ,’ फरेस्ट एक्सनका शोधकर्ता लीलानाथ शर्माले भने। टोलीले अध्ययन गरेका वनहरूमा रहेको कुल जैविक तत्त्व (बायोमास)को अनुमान गरेर त्यसले भण्डारण गरेको कार्बनडाइअक्साइडको आकलन गरेको थियो। ‘हामीले वनैपिच्छे कार्बनको मात्रा फरक रहेको पायौँ। असंरक्षितको तुलनामा संरक्षित वनमा कार्बन भण्डारण बढी भएको पाइयो,’ शर्माले भने।
अझै आश्चर्यजनक त के छ भने कुनै पनि वनमा रहेका रुखहरूमा घनत्व, आकार र मोटाइमा रहेको विविधताले कार्बनको भण्डारण क्षमतालाई जैविक विविधतासम्बन्धी आयामहरूभन्दा बढी टेवा पुर्याउँछ। ‘निस कम्प्लिमेन्टारिटी’ भनिने एउटा प्राकृतिक प्रक्रियालाई हेरेर यसो किन भयो भनेर भन्न सकिन्छ,’ अध्ययन टोलीले भनेको छ।
कुनै रुखहरू धेरै माथिसम्म फैलिन्छन्, कुनै ठिक्क उचाइका हुन्छन् भने कुनै होचै हुन्छन्। अध्ययन टोलीका अनुसार रुखले आफूलाई उपलब्ध जग्गाको राम्रोसित प्रयोग गरेका हुन्छन्। यसैका कारण वनका रुखहरूमा कार्बनको मात्रा बढी हुने गर्छ।
अमेरिकी अन्तरिक्ष संस्था (नासा)को भूउपयोग कार्यक्रमका अनुसार नेपालमा वनले ओगटेको क्षेत्रफलमा क्रमिक रूपमा वृद्धि देखिएको छ। सन् १९९२ मा देशको २६ प्रतिशत भूभाग वनले ढाकेको थियो तर सन् २०१६ सम्म आइपुग्दा यो आँकडा ४५ प्रतिशत पुगेको थियो।
अहिले विश्व बैंकको वन कार्बन साझेदारी कार्यक्रमले नेपालको ६६ लाख ३० हजार हेक्टर वन क्षेत्रमध्ये एउटा सानो क्षेत्रफलमा रहेका रुखहरूको मूल्यांकन चार करोड ५० लाख अमेरिकी डलर गरेको छ। कार्यक्रमअन्तर्गतको पाइलट योजना नेपालमा जैविक विविधताका दृष्टिकोणले धनी मानिने तथा बाघ र हात्तीजस्ता स्तनधारी जनावरको वासस्थान रहेको तराई क्षेत्रप्रति लक्षित छ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रसंघीय वन पुनःस्थापना कार्यक्रम (रेड) कार्यान्वयन केन्द्र प्रमुख बुद्धिसागर पौडेलका अनुसार पाइलट परियोजनाअन्तर्गत वैज्ञानिकहरूले यसै वर्ष र त्यसपछि सन् २०२४ मा छनोट गरिएको वन क्षेत्रमा भण्डारण भएको कार्बन नाप्नेछन् र त्यस अवधिमा कति कार्बन थपियो भनेर हिसाब गर्नेछन्। हिसाबको नतिजाका आधारमा नेपालले औद्योगिक देशहरूलाई एउटा निश्चित मूल्यमा कार्बन बेच्न पाउनेछ।
‘यो परियोजना सफल भयो भने नर्वेली-नेपाली टोलीले अध्ययन गरेका कार्बनमा धनी र उच्च भूभागमा रहेका वनमा समेत यस्तै योजना लागू गर्न सकिनेछ,’ पौडेलले भने, ‘कस्तो खालको वन व्यवस्थापन नीति अपनाउँदा बढी कार्बन भण्डारण गर्न सकिन्छ भन्ने जानकारीले नेपाली वन योजनाकारहरू लाभान्वित हुनेछन्।’
अध्ययनले रूखहरूको उचाइमा हुने असमानताले वनको कार्बन सोस्ने क्षमता बढाउने देखाए पनि अग्ला रूखहरूको भने आफ्नै कार्बन सोस्न सक्ने मौलिक क्षमता हुने गर्छ। पछिल्ला अध्ययनका निष्कर्षहरूलाई सम्झँदै पौडेलले भने, ‘हामीले वनहरूको सर्वेक्षण गर्दा पहाडी क्षेत्रका वनमा पाइने प्रतिहेक्टर कार्बन तल्लो भेगका रुखहरूमा भन्दा बढी भएको पाएका छौँ। ठूला रूखहरूले साना रुखको तुलनामा बढी कार्बन भण्डारण गर्छन्।’
अध्ययनमा संलग्न नभएको, पारिस्थितिक प्रणाली तथा पर्यावरण अध्ययनका लागि अशोका ट्रस्ट (अट्री) बैंग्लोरका वरिष्ठ अनुसन्धानकर्ता जगदीश कृष्णस्वामीले भने, ‘जग्गाको तहमा ठूला रुखले जमिनमाथि हुने कार्बनको भण्डारणमा अरू रुखले भन्दा बढी योगदान दिने गर्छन्। भूपरिधिको तहमा हेर्ने हो भने १० देखि २० प्रतिशत अग्ला रुखहरूको नाश भएमा मात्र पनि वनको समग्र कार्बन भण्डारमा ठूलो असर पर्ने देखिन्छ।’
शर्माले आफ्नो अध्ययनले दिएको पाठ नेपालबाहिरका वन व्यवस्थापकलाई समेत उपयोगी हुने बताए। दक्षिण एसियाभरि नै वायुमण्डलमा हुने कार्बन कटौतीका लागि वृक्षरोपण कार्यक्रमहरू सञ्चालन गरिँदै छन्। उदाहरणका लागि भारतको ‘काम्पा’ नीतिअन्तर्गत औद्योगिक विकासका लागि काटिने रूखहरूको सट्टा जवान र चाँडै हुर्कने रुखको अन्यत्र वृक्षरोपण गरिन्छ।
‘समग्रमा हेर्ने हो भने सबैभन्दा उत्तम रणनीति भनेको आफूसित भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नु हो,’ शर्माले भने, ‘कुनै क्षेत्रमा भूस्खलन भएको छ भने नयाँ वृक्षरोपण एक मात्र उपाय हुन सक्छ। तर, एकजना इकोलोजिस्टको नाताले म के भन्छु भने हामीले प्राकृतिक रूपमै वनको पुनःस्थापना गर्ने रणनीति लिनुपर्छ।’
कृष्णस्वामीका अनुसार नयाँ वृक्षरोपण गरिने स्थानहरूमा विविध उचाइका रुखको प्रयोग गर्ने तरिकाहरू छन्। कुनै एउटा खाली ठाउँमा वृक्षरोपण गर्नुको साटो भएका रुखहरू वरपर नै वृक्षरोपण गरेर स्खलन भएका वनलाई नै समृद्ध बनाउनतिर लाग्नुपर्ने उनको सुझाव छ।
‘तपाईंले वृक्षरोपणका लागि खाली गरिएका स्थानहरू पनि पाउनुहुनेछ। तर त्यति गरिँदा पनि केही अग्ला रुख कतै पाउनुभयो भने त्यस क्षेत्रलाई पुनःस्थापना गर्न सक्नुहुनेछ,’ उनले भने।
(यो सामग्री द थर्ड पोल डट नेटले उत्पादन गरेको हो)