सुनसरी- बराहक्षेत्र नगरपालिका-२ लाग्ने साप्ताहिक बिहीबारे हटियामा गरगहना, रकम चोरीका घटना दिनप्रतिदिन वृद्धि भइरहेको छ।
गत २६ माघमा बिहीबारे हटियामा करिब १८ हजार रुपैयाँ चोरी भएको सीसी क्यामेराले खिचेपछि पेशेवर गिरोहको संलग्नता रहेको रहस्य खुलेको हो।
गत १३ असोजमा बिहीबारे हटियामा सुनको सिक्री चोरी गर्दागर्दै बारा नगरपालिका-३२ ठेडामा १४ वर्षका विकास यादव पक्राउ परेका थिए।
उनले बराहक्षेत्र-२ पुनर्वासका वसन्त रेग्मीले घाँटीमा लगाएको डेढ तोलाको सिक्री चोरी गरेका थिए । उनलाई समातेर स्थानीयवासीले इलाका प्रहरी कार्यालय चतरामा बुझाएका थिए।
बिहीबारे हटियामा विभिन्न समयमा बराहक्षेत्र-२ बस्ने रामचन्द्र बनेपालीकी श्रीमती विमलादेवीको २ तोला सुनको सिक्री, पुनर्वास बस्ने पशु चिकित्सक अशोक कार्कीकी आमा विष्णुमायाको सवा दुई तोला सुनको सिक्री र वडा नम्बर १ की दिलमाया सुरखेतीको नगद करिब २६ हजार रुपैयाँ चोरी भइसकेको छ।
उनीहरूले इलाका प्रहरी कार्यालय चतरामा चोरी भएको घटनाको लिखित उजुरी दिएको पीडित सुरखेतीले जानकारी दिइन्।
स्थानीय रुपक श्रेष्ठका अनुसार बिहीबारे हटियामा शान्ति सुरक्षा कायम गर्न र चोरी घटना न्यूनीकरण गर्न प्रहरी र सशस्त्र प्रहरीहरू बर्दी र सादा पोशाकमा परिचालन गर्नुपर्ने माग गरे । चोरी घटनामा शंका लागेका व्यक्तिलाई निगरानी गरी नियन्त्रणमा लिनुपर्ने उनको धारणा छ । हालसम्म प्रहरीले चोरीमा घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गर्न सकेको छैन । सोही कारण चोरी भएका गरगहना र रकम पीडितले फिर्ता पाएका छैनन् ।
बजारमा शान्ति सुरक्षामा फितलो रहेको श्रेष्ठ ठम्याइ छ । इलाका प्रहरी चतराका अनुसार चोरीका घटनामा अनुसन्धान र छानविन क्रममा छन् ।