सुनसरी- बराहक्षेत्र नगरभित्रका पत्रकारहरूको हक हित र अधिकारको लागि ०७४ सालमा स्थापित ग्रामीण पत्रकार समूह मंसिरदेखि पदाधिकारीविहीन भएको छ।
२४ मंसिरमा समूहको चौथो साधारण सभा सम्पन्न भएपछि नयाँ कार्यसमितिमा प्रेस युनियन, प्रेस चौतारीलगायत संस्थाबाट अध्यक्षमा ४ जना आकांक्षीको दाबी भएपछि एकअर्कामा सहमति जुट्न नसक्दा निर्वाचन हुने पक्का भएको थियो।
निर्वाचन सम्पन्न गर्न र गराउन भीषण राईको संयोजकत्वमा नवराज विष्ट र छबिना मगरसहितको ३ सदस्यीय निर्वाचन समिति गठन भएको थियो। समितिले २४ पुसमा निर्वाचन मिति तोके पनि उक्त समयमा चुनाव गराउन सकेनन्।
निर्वाचन समिति संयोजक भिषण राईले निर्वाचन हुनु एक दिनअघि फेसबुक ग्रुपमा १४ माघमा पुनः निर्वाचनको मिति सारिएको भनी हस्ताक्षरविनाको सूचना निकालेका थिए।
अध्यक्षका आकांक्षी हिरण्य कार्की, अर्जुन श्रेष्ठ र दीपक पुरीले सूचना चित्तबुझ्दो नभएको भन्दै यथाशीघ्र निर्वाचनको माग गरेका थिए। निर्वाचनको विषयमा चासो, तयारी र प्रकृया अघि नबढाएको आरोप लगाउँदै उनीहरूले संयुक्त विज्ञप्तिसमेत निकालिसकेका छन्।
उक्त विज्ञप्तीलाई समर्थन गर्दै प्रेस युनियन र प्रेस चौतारीका बराहक्षेत्र संयोजक संगम बिष्ट र लक्ष्मण कटुवालले संयुक्त रूपमा हस्ताक्षर गर्दै निर्वाचन तोकिएकै समयमा गर्न गराउन माग गरेका थिए।
निवर्तमान अध्यक्ष हिरण्य कार्कीका अनुसार निर्वाचन समिति संयोजकले अध्यक्ष पदका दाबेदार उम्मेदवारहरू र ग्रामीण पत्रकार समूहका सदस्यहरूसँग छलफल नगरी एकपछि अर्को गर्दै निर्वाचन मिति सारी समूहलाई हालसम्म अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन्।
सोही कारण उक्त समूह मंसिरदेखि हालसम्म पदाधिकारी विहीन र निष्क्रियजस्तै भएको छ। कसै, कुनै व्यक्ति, संघसंस्था तथा सरोकारवाला निकायले समूहको आधिकारिक मान्छे खोज्यो भने कसलाई देखाउने भनी बराहक्षेत्रका पत्रकारहरूबीच अहिले चर्चाको विषय बनेको छ।
निर्वाचन समितिका सदस्य छबिना लुंगेली मगर चर्चित टेलिभिजन सो ‘द पोइट आइडल’मा सहभागी भएको कारण निर्वाचन मिति २० फागुनका लागि सारिएको भनी सूचना निकालेपछि अध्यक्षका आकांक्षी अर्जुन श्रेष्ठले भने निर्वाचन समितिले समयमा निर्वाचन गराउन नसक्ने हो भने समितिमा रहनु र बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। र, त्यसको नैतिक जिम्मेवारी कसले लिने भनी प्रश्न गरेका छन्।
समूहभित्र राजनीतिक गुट–उपगुटको चलखेलको कारण समूह फस्टाउन, अगाडि बढ्न नसके र पत्रकारको हकहित र अधिकारको लागि माखोसम्म मार्न नसकेको शुभेच्छुक सोम राईको भनाइ छ।
नयाँ कार्य समितिमा अध्यक्ष पदका लागि संस्थाका संस्थापक अध्यक्ष बाबुराम कार्की र दीपक पुरी प्रेस युनियनका सदस्य हुन् भने अर्जुन श्रेष्ठ प्रेस चौतारीबाट एक्ला प्रतिस्पर्धी र निवर्तमान अध्यक्ष हिरण्य कार्कीको अध्यक्ष पदमा उम्मेदवारी दाबी छ। निर्वाचनको समयमा अध्यक्ष पदमा प्रेस चौतारीको निर्णायक मत छ।
ग्रामीण पत्रकार समूहको सूत्रपात र स्थापना गर्ने महत्त्वपूर्ण भूमिकामा रहेका गर्ने पत्रकार हिमाल राईको टिमलाई प्रशंसा गर्दै चौथो साधारण सभाबाट समूहले आत्मसात गर्दै अनुमोदन गरेको छ।

