सुनसरी- ‘दुर्घटनामा परेर थला परेपछि आर्थिक सहयोगका लागि याचना’ भने समाचार ८ माघमा नेपाली हेडलाइनमा प्रकाशित भएपछि प्रदेश-१ सांसद ममता तामाङ तथा बराहक्षेत्रका चर्चित युवा पुराण वाचक योगेश भण्डारीलगायतको ध्यानाकर्षण भएको छ।
सफारी दुर्घटनामा परी ओछ्यान थला परेपछि वराहक्षेत्र नगरपालिका-२ बयरवन बजारका पदम मगरले उपचार गर्न आर्थिक सहयोगको लागि याचना गरेका थिए।
समाचार पढेपछि वराहक्षेत्र नगरपालिका वडा नं २ निवासी सांसद तामाङ आज बिमारी मगरको घर पुगेकी छन्। उनले बिरामी स्वास्थ्य अवस्था बुझ्दै आर्थिक सहयोगसमेत उपलब्ध गराएकी छन् । आर्थिक सहयोग पाएसँगै उनी स्वास्थ्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने भएका छन्।
गत १ माघमा सप्तकोसी नदी किनारमा मलामी जाने क्रममा सफारी दुर्घटना भई उनी घाइते भएका थिए। उनको कम्मरमुनिको देब्रे पट्टीको हड्डी चर्किएको थियो।
आर्थिक अभावका कारण उनले औषधि उपचार गर्न सकिरहेका थिएनन्। सो समाचार पढेपछि वराहक्षेत्र चर्चित युवा पुराण वाचक योगेश भण्डारी, दिलीपकुमार राय, ईश्वर खड्का, प्रेम खड्का, बद्री दाहालले बिरामीको उपचारका लागि गच्छेअनुसार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।