काठमाडौं- नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो – माघे संक्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ।
उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ। माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन छ। सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ। विविध जाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ। माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ।
आजभोलि माघे संक्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ। तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ। जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पु¥याउने खाद्य सामग्रीको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।