काठमाडौं- कुशल मल्लको आक्रामक अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल टी–२० लिगमा मंगलबार लुम्बिनी अल स्टार्सलाई एक सय ३४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा एक सय ३३ रनको योगफल तयार गर्न ९ विकेट खर्चियो।
पोखराका लागि कुशलले ३१ बलमा पाँच चौका र पाँच छक्कासहित ६१ रनको शानदार इनिङ खेले। त्यसअघि, विकेटकिपर–ब्याटर उपुल थरङ्गाले ५१ बलमा ४२ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका लागि शाड्ली भान स्कलक्यकले सर्वाधिक तीन विकेट लिए। किशोर महतो र गुल्शन झाले दुई–दुई तथा हर्मित सिंह र सागर ढकालले पनि एक–एक विकेट चट्काए।
पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्समाथि ३ रनको जित निकालेको थियो। पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले हारेको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेट स्तब्ध भएको थियो।