काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बिहीबार जनकपुर पुगेका छन्।
Advertisement
उनी शनिबारसम्मै जनकपुरमा रहने छन्। आज र भोलि जनकपुरमै बस्ने र शनिबार बिहान राम जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको निर्मल निवास निकटस्थ स्रोतले जनाएको छ।
शनिबार पनि उनी जनकपुरमै बस्ने तालिका छ।
पूर्वराजा शाह निर्वाचनलगत्तै ६ मंसिरमा पूर्वरानी कोमल र छोरी प्रेरणासहित झापाको दमकस्थित हिमालय गुडरिक चिया बगान पुगेका थिए। उक्त चिया बगानमा पूर्वराजाको दरबार छ।
झापाबाट उनी सोझै जनकपुर भ्रमणमा निस्किएका हुन्। जनकपुरमा उनी ‘यात्री निवास’मा बस्ने कार्यक्रम छ। उनी जनकपुर जाँदा सधैं ‘यात्री निवास’मै बस्ने गर्छन्।
पूर्वराजा शाह जनकपुर पुगेसँगै स्वागत गर्न धार्मिक संघसंस्थाका पदाधिकारी र प्रतिनिधिहरू, सन्त, महन्त तथा सामाजिक अभियन्ताहरू पनि पुगेका छन्।