भैरहवा- लुम्बिनी राष्ट्रिय महोत्सव, २०७९ मा शनिबार सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघले ०६१ सालदेखि भैरहवामा उक्त महोत्सव आयोजना गर्दै आएको छ। शनिबार हालसम्मकै बढी दर्शकले महोत्सव अवलोकन गरेको संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। उनका अनुसार शनिबार एकै दिन ५० हजारभन्दा बढीले महोत्सव अवलोकन गरेका छन्।
साप्ताहिक बिदाको दिन महोत्सव परिसरमा रहेका होटल तथा रेस्टुराँमा साँझपख सबै परिकार सकिएको र त्यसमा पनि केरा र च्याउका परिकार तथा कुराउनी उल्लेख्य बिक्री भएको कृषि उपसमिति संयोजक अर्जुन कार्कीले बताए। मेला परिसरमा रहेका पिङमा पनि लामो लाइन भएकोले घण्टौं पर्खेर दर्शकले मनोरञ्जन लिएका थिए।
महोत्सवमा शनिबार चर्चित गायक हेमन्त शर्मा, भुपेन्द्र थापा, सपना गाहा र दिपु मगरलगायतले प्रस्तुती दिएका थिए। उनीहरूको प्रस्तुतीमा उर्लिएको भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे परेको सांस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले बताए। शनिबार सबैको बिदा भएकाले दर्शकको धेरै भीड भएको र अब दुई दिन यो कायम रहने अपेक्षा रहेको महोत्सव संयोजकसमेत रहेका सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए।