धनगढी- मञ्चमा उपस्थित हुने ६ कलाकारका साथै प्राविधिक र व्यवस्थापकीय गरी ७० जनासहित नेपथ्यको टोली अहिले धनगढीमा छ। आइतबार धनगढी रंगशालामा नेपथ्य गुन्जिँदै छ।
यसअघि नेपथ्यले विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन र नेपालगञ्जमा हजारौं दर्शकबीच भव्य कन्सर्ट गरिसकेको छ।
नेपथ्य ब्यान्ड स्वदेश–विदेशमा छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक ब्यान्ड हो। यसपटकको महिनादिन लामो नेपाल भ्रमणअन्तर्गत धनगढीमा छैटौं प्रस्तुती गर्दैछ, नेपथ्यले। आइतबार अपराह्न ४ बजे धनगढी रंगशालामा नेपथ्यको कन्सर्ट हुँदैछ। धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोश्रो पटक प्रस्तुत गर्न लागेको हो।
नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियानअन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो। त्यसलगत्तै सन् २००६ मा ‘शान्तिको लागि शिक्षा’ अभियानमा आफूलाई यहाँ प्रस्तुत गर्यो। त्यसको ६ वर्षपछि फेरि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै नेपथ्य यहाँ प्रस्तुत भएको थियो। यस्तै, चार वर्षअघि सन् २०१८ मा नेपथ्यले रंगशाला मैदानमै कन्सर्ट गरेको थियो।
आइतबारको प्रस्तुतीका लागि धनगढी रंगशालामा मञ्च निर्माण सम्पन्न भएको छ। शनिबार साँझ आवाज तथा प्रकाशको परीक्षण गरिएको छ। मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ। त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नु परेको नेपथ्य ब्यान्डले जनाएको छ।
‘संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम धनगढीका लागि महत्त्वपूर्ण छ,’ मानवसेवा आश्रमको धनगढी संयोजक आदर्श ढकालले भने, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पूरा भएको छ।’
मानवसेवा आश्रमले शनिबार धनगढी, चटकपुर ४ को शहिदगेटनजिकै ‘सौंराइ बैंकेट एन्ड इभेन्ट्स’मा बिहान ११ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गरेको थियो। उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुखलगायतको उपस्थिति थियो।
यो कन्सर्टको लाभांशबाट मानवता प्रबर्द्धनका साथै धनगढीमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच छ। यस्तै, यसबाट बेसहाराहरूको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ।