काठमाडौं- गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्र पाण्डे भावी मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन्। पाण्डे गोरखा-२ ‘ख’ बाट निर्वाचित भएका छन्।
गोरखा-२ बाट प्रतिनिधिसभाको टिकट पाउने पक्कापक्कीजस्तै रहेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न गोरखा आउने भएपछि प्रदेशमा झर्नुप¥यो। त्यसैले गोरखा-२ बाट निर्वाचित पाण्डेलाई निर्वाचनअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले भावी मुख्यमन्त्री रूपमा अगाडि सारेका थिए।
कांग्रेसबाटै मुख्यमन्त्रीको दाबेदार छन्, गण्डकीका कांग्रेस सभापति शुक्रराज शर्मा पनि। तथापि, उनी समानुपातिकतर्फका प्रदेश सदस्य बन्दै छन्। कांग्रेसभित्र गण्डकीको संसदीय दलको नेता बन्ने यी दुई नेताबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा देखिएको छ।
गण्डकीमा १८ सिट जित्दै कांग्रेस पहिलो दल बनेको छ। यस्तै, १२ सिटमा विजय हासिल गरेर एमाले दोस्रो र ४ सिट हात पार्दै माओवादी केन्द्र तेस्रो दल बनेका छन्। नेपाल समाजवादी पार्टी र स्वतन्त्र १-१ ठाउँमा निर्वाचित भएका छन्।
एकीकृत समाजवादीले यो प्रदेशमा जित निकाल्न सकेन। त्यसैले हो, एकीकृत समाजवादीले मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेलाई पार्टी प्रवेश गराएको पनि।
सोही कारण यस प्रदेशमा मुख्यमन्त्रीको दाबेदारमा सत्ता गठबन्धनबाट कांग्रेस र माओवादी तथा सरकार बनाउन खोज्दा एमालेका सांसद प्रमुख देखिएका छन्। तथापि, सत्ता गठबन्धनकै अग्रता रहेकाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच रस्साकस्सी चल्ने सम्भावना उत्तिकै छ। तर, देउवा र प्रचण्ड दुवैले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारिसकेकाले माओवादी केन्द्रका नेताहरूको दाबी फिका पर्न सक्ने सम्भावना देखिन्छ।
एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारमा आन्तरिक मामिला मन्त्री रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान पनि यसपटक मुख्यमन्त्रीको दौडमा छन्। उनी तनहुँ-१ ‘ख’ बाट निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनमा भागबण्डा गर्दा गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दबाब नेतृत्वलाई दिँदै आएका पनि छन्।
एमालेबाट भने गण्डकीमा केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी चर्चामा छन्। उनी प्रतिनिधिसभाबाट प्रदेशसभामा झरेका हुन्। मुख्यमन्त्री बन्नकै लागि अधिकारी संघबाट प्रदेशमा झरेको उनी निकटस्थ नेताहरूको भनाइ छ। कास्की-१ ‘क’ बाट निर्वाचित अधिकारीलाई चुनौती दिनसक्ने अन्य नेता एमालेमा नभएकाले उक्त पार्टीले सरकार बनाउने अवस्थामा अधिकारी नै मुख्यमन्त्रीको एक्लो दाबेदार देखिएका छन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ सांसद प्रत्यक्ष निर्वाचित हुन्छन्। बाँकी २४ जना समानुपातिकबाट आउँछन्।
गण्डकीमा प्रदेश समानुपातिकतर्फको मतका आधारमा एमाले पहिलो दल बनेको छ। एमालेले ३ लाख ६७ हजार ९८९ समानुपातिक मत पाएको। यस्तै, दोस्रो दल बन्दै कांग्रेसले ३ लाख ४९ हजार ६२८ मत पाएको छ भने माओवादी केन्द्रले तेस्रो दलका रूपमा १ लाख १६ हजार ९४५ मत पाएको छ। चौथो दल बन्दै राप्रपाले ५९ हजार ४८३ मत प्राप्त गरेको छ।
प्रदेशसभातर्फ राष्ट्रिय पार्टी बन्न १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ। त्यस हिसाबबाट गण्डकीमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी एक्लै २७ सिट हात पारेको छ। कांग्रेसलाई सरकार बनाउन अब मात्र चार सिट आवश्यक हुन्छ।
गठबन्धनकै माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट प्राप्त गरेको छ। यस्तै, एकीकृत समाजवादीसँग दीपक मनाङेको एक सिट छ। र, माओवादीकै चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका एक सांसद छन्। त्यो भनेको पाँचदलीय गठबन्धनका पक्षमा ३६ सांसद देखिएका छन्। र, गठबन्धन सुविधाजनक बहुमतमा छ।
विपक्षमा रहेका दलमध्ये एमालेले १२ प्रत्यक्ष र समानुपातिक १० गरी २२ सिट हात पारेको छ। एमालेसँगै तालमेल गरेको राप्रपाले समानुपातिकमा मात्र २ सिट पाएको छ।
एकीकृत समाजवादी, हाम्रो नेपाल पार्टी र राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाए पनि एकजना सांसद प्राप्त गर्न आवश्यक मत प्राप्त गर्न नसकेका कारण राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएका छन्।