काठमाडौं – प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँसेका दुनाटपरी हराउँदै जान लागेका छन् ।
मेसिनबाट बनेका दुनाटपरी तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमीका कारणले पनि यसको प्रयोग हराउँदै गएको हो ।
धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।
पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभइ गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउँछन्। उनले भने, ‘गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गाँसिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।’
उमेरले ८२ वर्ष पुगेकी देवचुली–१५ की हरिमाया भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गाँसेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा बिस्तारै दुनाटपरी हराउँदै गएको बताउँछिन् । चाडपर्वमा घरमा आउने पाहुना तथा आफन्तलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उनको गुनासोे छ ।
कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईँलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । ‘पहिला पहिला सालको पात टिपेर ल्याए। बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखेर खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन कि भन्ने पिर लाग्छ’,उनले भनिन् ।
केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । पहिले दुनाटपरी बनाएर पुर्याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको १२ वर्षदेखि कर्मकाण्ड गराउँदै आएका पण्डित रिमप्रसाद आचार्य बताउँछन् । दशैँ, तिहारलगायतका चाडपर्व, विवाह व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आचार्यले बताए । उनी भन्छन्,‘नयाँ पुस्तालाई पनि पात गाँस्न सिकाउनुपर्छ । ’
हराउँदै गए हातले गाँसेका दुनाटपरी
हराउँदै गए हातले गाँसेका दुनाटपरी
Advertisement
तपाईको प्रतिक्रिया