गुल्मी : नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन। शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए।
उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए। ‘अब निर्वाचन सकियो, काठमाडौँ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु,’ नेता भण्डारीले भने।
वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताए। पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उनको भनाइ थियो।
नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए। उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए।
उनले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमूना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। नेता भण्डारीले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गरे। रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले विकास निर्माणको काममा तीव्रता दिन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए।
कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (२) का सदस्य धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताएका थिए।