काठमाडाैं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न काठमाडाैं प्रहरी परिसर प्रहरीलाई पत्राचार गरेको छ। निर्वाचनकाे समयमा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा परेकाे उजुरीकाे आधारमा अनुसन्धान गर्न प्रहरीले पत्रचार गरेकाे हाे।
चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो।
आयोगले लामिछानेलाई ७ दिनको म्याद दिएर स्पष्टिकरण सोधेपनि पछि आफनो क्षेत्र नभएको जवाफ दिएर आयोग पन्सिएको थियाे।
तर, प्रशासनको पत्राचारपछि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको जनाएको छ।