काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिएका छन् ।
महोत्तरी ३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी २ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भए । उनीहरू दुवै यसअघि ०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भएका छन् ।
यसमा महोत्तरी–१ क र ख बाट क्रमशः नेकपा एमाले नेतृ शारदा थापा र नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह छन् ।
महोत्तरी–२ क र ख बाट जयनुल राइन र सुरिता साह निर्वाचित भएका छन् । उनीहरू दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी भएका हुन् ।
जिल्लाको महोत्तरी–३ क र ख बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी भएका छन् । उनीहरू दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य थिए । यसरी नै महोत्तरी–४ क का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
महोत्तरी–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भएकी छन् भने महोत्तरी ४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ महोत्तरी–४ क बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुन् । ०७४ मा महोत्तरी–४ ख प्रदेशसभा क्षेत्रमा पराजित भएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४ क बाट निर्वाचित भएका हुन् ।
महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा. सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४ क बाट कौशलकुमार रायले निर्वाचनमा पराजित भएका छन् ।