काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ।
यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन्।
यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ। शुरुमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी बीचमा पछि परेको थियो। तर, अहिले १० लाख ६० हजार ८ सय ८९ मतका साथ ऊ माओवादी केन्द्रभन्दा अघि भएको हो। यही समयमा माओवादी केन्द्रले भने १० लाख ५४ हजार ९ सय ९७ समानुपातिक मत प्राप्त गरेको छ।
यस्तै नेकपा एकीकृत समाजवादी र जनमत पार्टी पनि आपसमा अघिपछि भइरहने दल हुन्। यो समाचार तयार पार्दा भने जनमत पार्टी फेरि एकीकृत समाजवादी भन्दा अघि लागेको छ। ताजा तथ्यांकअनुसार जनमत पार्टीले २ लाख ५६ हजार ३३ मत प्राप्त गरेको छ भने ऊभन्दा पछि एकीकृत समाजवादीले २ लाख ४९ हजार १ सय १८ समानुपातिक मत प्राप्त गरेको छ।
अहिलेसम्म ९२ लाख ५० हजार ८ सय ९१ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।