काठमाडौँ । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधि सभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
यसैगरी आठ प्रदेश सभामध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक–एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
प्रतिनिधि सभातर्फ बारा १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ र ४ मा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १ (क), ३ (क), ३ (क) र ४ (ख) मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेसँग चुनावी तालमेल गरेको जसपाले १ (ख) र २ (ख) को प्रदेश सभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।
एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४ (ख) मा जित हात पारेको छ भने क्षेत्र नं. २ (क) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार बारामा एमाले ठूलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।
बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शून्य देखिएको छ । सत्ता गठबन्धनबाट बाराको ४ (ख) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।