काठमाडौँ । गुल्मी मदाने गाउँपालिका ६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक बिहान कम्तीमा दुई घण्टा एक गाग्री पानी भर्नका लागि हिँड्छन् ।
उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्ने गरेका हुन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् ।
विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लागेकी हुन् । तर, एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनीसहितको समस्या समधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उनले गुनासो गरिन् ।
विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नु पर्ने बाध्यताका बीच उनीको घरखर्च चलाउन गिट्टी कुट्नु पर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनी भने गिट्टै कुट्न व्यस्त छिन् ।
‘हामी हरेक दिन सडक छेउ बसेर गिट्टी कुटिरहेका छौँ,’ गिट्टी कुट्दै गरेकी उनले भनिन्, ‘चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।’
उनीहरु कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउँछन् । पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आएकी छन् ।
‘म जान्ने भएदेखि खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन,’ उनले भनिन्, ‘यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।’
उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार बनेका छन् ।
प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार बनेका छन् ।
थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे । उनले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी लैजान लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेको बताए ।