काठमाडौं- करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता भुवन केसी र जिया केसी लिभइन टुगेदरमा बसिरहेका छन् ।
तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।
तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् । उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् ।
तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’
जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् ।