काठमाडौँ । निर्वाचन आयोगले चुनावमा सञ्चार माध्यमको अनुगमन र निगरानीमा नेपाली सेना र नेपाल प्रहरीका प्रतिनिधिबाट गराउने निर्णयबाट पछि हटेको छ ।
कार्यविधि ल्याएर मिडिया अनुगमन र कारबाही आफैँ गर्न खोजेसँगै प्रेस काउन्सिलसहित सञ्चार क्षेत्रले विरोध गरेपछि आयोग पछि हटेको हो ।
आयोगले सेना र प्रहरीका समेत प्रतिनिधिसहित निर्वाचन मिडिया अनुमगन संयन्त्र बनाउने गरी ‘प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ ल्याएको थियो ।
आयोगको शुक्रबार बसेको बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरूप भए नभएकोबारे नियमित अनुगमन गर्ने प्रेस काउन्सिल नेपाललाई पठाउने निर्णय गरेको छ ।
निर्वाचन ऐनले नै आचारसंहिता अनुगमन गर्न विज्ञ (सेना र प्रहरी)सहितको संयन्त्र निर्माण गर्ने अधिकार दिएको जिकिर गर्दै आयोगले उक्त संयन्त्रले आन्तरिक अनुगमन भने जारी नै राख्ने स्पष्ट पारेको छ ।
आचारसंहिता उल्लंघन गरेको पाइएमा कारबाहीका लागि काउन्सिललाई नै सिफारिस गर्ने आयोगको निर्णय छ । यसअघि अनुगमन पनि आफैँ र कारबाही पनि आफैँ गर्ने गरी आयोग अघि बढेको थियो ।