काठमाडौं- बडादशैंको अष्टमीलाई महाअष्टमी भनिन्छ। घटस्थापनाको आठौं दिन महागौरी भगवतीको पूजा आराधना गरिन्छ।
अष्टमीको दिनमा बिहानै ध्यान, स्नान गरेर चोखो वस्त्र फेर्नुपर्छ। यससँगै पूजामा आवश्यक पर्ने सामग्रीहरू तयार गर्नुपर्छ। फलफूल, फूलहरू, प्रसादको रूपमा पुरी, सेलरोटी र मालपुवा, अग्र, अपुंगो, पञ्चामृत, नौ किसिमका फूल चढाउनुपर्छ।
प्रथम दिनदेखि नै कलश, दियो, गणेश राखिएको हुन्छ। अष्टमीको दिन कुनै एक वा नौवटा हातहतियार पनि राख्नुपर्छ। त्यसमा रातो टीका लगाउने र रातो वस्त्र बेरिदिनुपर्छ।
महाअष्टमीमा एउटा नरिवल, कुभिन्डो, खिचडी, कुस्माण्डबली चढाएर महालक्ष्मी भगवतीको पूजा गर्नुपर्छ।
वैदिक मन्त्रहरू सबैलाई याद नहुन सक्छन्। सामान्यतया दियोलाई पूजा गर्दा ‘दीप नारायणाय नमोः कर्म साक्षीण नमोः’ उच्चारण गर्नुपर्छ।
महाअष्टमीमा विशेषगरी नौ किसिमका नैवेद्य, नौ किसिमका फूलहरू चढाउनुपर्छ। महागौरी भगवतीको पूजा, अर्चना गरिसकेपछि सपरिवार बसेर आरती गाउनुपर्छ।
सम्भव भए प्रत्येक दिन नौवटी कन्याको पूजा गर्नुपर्छ। दुई वर्षदेखि १० वर्षभित्रका कन्याको पूजा गरिन्छ। अष्टमी र नवमीमा अनिवार्य पूजा गर्दा घर, परिवारमा सुख, शान्ति, समृद्धि कायम हुने जनविश्वास रहिआएको छ।