काठमाडौँ । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार १०९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
तर, सरकारले अस्पतालमा सिटामोल पठाउन सुरु गरेको छ । संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौँ र ललितपुरका १४ स्थानीय तहसँगै यहाँका १६ अस्पतालमा पाँच लाख ५० हजार थान सिटामोल पठाएको हो । निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराइएको हो ।
काठमाडौँ र ललितपुर महानगरलाई एक-एक लाख थान सिटामोल पठाइएको छ । कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०-२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सिटामोल उपलब्ध गराइएको छ ।