काठमाडौं- नवरात्रको चौथोे दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
Advertisement
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आदिभौतिक र आदिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथी देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ– ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कुष्माण्डा’ अर्थात् ‘त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ।’