काठमाडौं- तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो। जतिबेला स-साना बालबालिका पढ्ने विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप बढ्दै गयो, नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ नाराको साथ आफूलाई अघि बढायो। मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फसेका बेला ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउहरूमा संगीतको मलम दल्ने प्रयत्न ग¥यो।
आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रबर्द्धन अभियान’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।
विशेषगरी, घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ। वास्तविक रूपमा सहयोगापेक्षी भई मुलुकका सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्नु नपर्ने अवस्था निर्माण गर्दै अबको तीन वर्षमा यस संस्थाले सिंगो मुलुकलाई सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ। त्यसै उद्देश्यबाट प्रेरित भएर नेपथ्यले मानव सेवा आश्रमसँग सहकार्यको निधो गरेको हो।
यो सहकार्यअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत् मानव सेवा आश्रमको अभियान प्रबर्द्धन गर्नुका साथै मानवता प्रबर्द्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने भएको छ। यस अभियानअन्तर्गत नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्यूजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताको लागि संगीत राख्ने निर्णयसमेत गरेको छ।
हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लामा २३ वटा केन्द्र सञ्चालन गरिरहेको छ। यी केन्द्रले ७७ वटै जिल्लामा सेवा दिइरहेका छन्। यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानिसले आश्रय पाइरहेका छन्।
‘नेपाली समाजले जसरी नेपथ्यलाई मन परायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानसिक सन्तुलन गुमाएकाहरूको संख्या बढेको देख्थ्यौं। यिनीहरूको राज्यले उचित व्यवस्थापन गरिदिए हुनेजस्तो लाग्थ्यो। यसै क्रममा एउटा संस्थाले उनीहरूको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो।’
अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा उनी खुशी छन्। मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३ सय ६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २८ सय २३ जनालाई उनीहरूको परिवारमा पुनःस्थापित गराइसकिएको छ। अहिले पनि यसका केन्द्रहरूमा करिब १५ सय उद्धार गरिएका मानिसले सेवा पाइरहेका छन्। आश्रमअन्तर्गत दुई सयभन्दा बढी पूर्णकालीन तथा अल्पकालीन स्वयंसेवीहरू परिचालित छन्।
नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास यसका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले लिएका छन्। ‘मानव सेवा आश्रममा स्वतःस्फूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवं हितचिन्तकहरू परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,’ अधिकारी भन्छन्, ‘किशोरवय भन्दा माथिका बढीभन्दा बढी तन्नेरीहरूलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याउने छ भन्ने कुरामा म आश्वस्त छु।’