काठमाडौं- ‘साइँली मोरीलाई’ १९ वर्ष छँदा कवि मञ्जुलले लेखेका थिए। सोही कवितालार्ई नेपथ्यले संगीत दिएको छ।
साढे पाँच दशकपछि यो कविता नेपथ्यको गीतमा परिणत भएको हो। गीत कवि मञ्जुलको ०२४ सालमा प्रकाशित कविता संग्रह ‘साइँली मोरीलाई’बाट लिइएको हो। यो गीतलाई नेपथ्यले गत शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।
२०६८ सालतिर काठमाडौंबाट पूर्वी पहाड संखुवासभासम्मको पैदल यात्रा क्रममा नेपथ्यका अगुवा गायक अमृत गुरुङले यस गीतमा भाका भरेका थिए। मञ्जुल–रामेशले गरेको पदयात्रामा आधारित संस्मरण ‘सम्झनाका पाइलाहरू’का डोबहरू पछ्याउँदै हिँडेका अमृतले रामेछाप, ओखलढुंगा हुँदै खोटाङ पदयात्रा गर्दा जब बाटामा एक नवविवाहित जोडी भेटे, त्यसपछि चार दशकअघि रचिएको यो गीतका शब्दहरू उनका मनमा खेल्न थाले। खोटाङको हलेसी सेरोफेरोका डाँडा काट्दै गर्दा यी शब्दले संगीतको रूप पाएरै छाडेः
‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’
यस गीतमा स्वर तथा संगीत गायक अमृत गुरुङले दिएका छन्। ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन्।