काठमाडौं- किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा हालसम्म ९४ जनाको ज्यान गएको छ ।
मध्य एसियाका यी दुई देशबीच बुधबारसम्म झडप जारी थियो । तर, शुक्रबार दुवै पक्षबीच युद्धविरामको घोषणा भयो ।
यी दुई छिमेकी मुलुकबीच सीमानाका बारेमा फरक मत भएकाले सीमा विवाद छ ।
ताजिकिस्तान र किर्गिस्तानबीच एक हजार किलोमिटर सीमा छ। दुवै देश एक तिहाइमा सहमत छैनन्।
सन् २०२१ मा पनि दुई देशबीच यस्तै द्वन्द्व भएको थियो । उक्त द्वन्द्वमा करिब ५० जनाको ज्यान गएको थियो । तर, पछिल्लो दिनमा शुरु भएको हिंसामा करिब सय जनाको ज्यान गएको छ ।
आइतबार किर्गिस्तानले थप १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अधिकारीहरुले अहिलेसम्म आफ्नो देशका ५९ जनाको ज्यान गएको बताएका छन् । साथै सयभन्दा बढी घाइते भएको जनाएको छ ।
यस्तै, ताजिकिस्तानले आफ्ना ३५ सर्वसाधारण मारिएको र कम्तीमा २० जना घाइते भएको जनाएको छ । अन्तर्राष्ट्रिय दबाबका कारण शुक्रबार दुवै देशले युद्धविरामको घोषणा गरेका हुन् ।