काठमाडौँ । गायक शिव परियारले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको आरोपको कडा खण्डन गरेका छन् । उनले लामिछानेको पक्षमा वकालत गर्दै बलात्कारलाई व्यवसाय बनाउनेलाई करबाही गर्न माग गरेका छन् ।
उनले बलत्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर नभए नेपाल बलात्कारीको देश भन्ने नजिर स्थापित हुने बताए । सरकारलाई सम्बोधन गर्दै परियारले भने, ‘यो पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारबाही गर्ने कुनै कानूनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ?’
उनले प्रधानमन्त्रीमाथि नै बलात्कारको आरोप लाग्न सक्ने बताए । उनले प्रधानमन्त्रीदेखि किसानसम्म बलात्कारीको ट्याग लाग्न सक्ने चिन्ता व्यक्त गरे ।
‘अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस्, तर देशका सबै आइकनलाई सिध्याउने नियतसहितको केश अवस्था हो भने सम्माननीय नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशील हुनु पर्ने अवस्था देख्दछु,’ उनले भने ।
उनले आफ्नो प्रसिद्धि, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने कडा कानुनी कारबाही गर्न आग्रह गरे ।
