काठमाडौँ । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका ६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
Advertisement
प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
सार्वजनिक भएको भिडियोमा उनीहरूले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयबासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न नसक्ने छिन् । उनका श्रीमानसमेत शारीरिक अपांगता भएका व्यक्ति हुन् ।