यस्तै चलेको छ हाम्रो राजनीति
कोही टाई सुटमा टिपिक्क
कोही दौरा सुरुवालमा चिटिक्क
अघि पछि हुलमा घेरिएर
रमाएका छन्
बोलेका छन्
बासेका छन्
बाँचेका छन्,
सुन्ने हाँसेका छन्
आसेपासे ढडिया थापी बसेका छन्
केही परिहाल्छ कि
केही झरिहाल्छ कि
असारे झरीले बगाएर ल्याएजस्तो
दिने भन्ने
भ्यागुतो फुलेजस्तो फुलेका छन्
भ्यागुते बोली बोलेका छन्
असार लागेजस्तै
के को पानी पर्नु
कहाँको पानी पर्नु
देशैलाई सुकेनास लागेको छ
औषधि के हो
न दाइलाई थाहा छ
न बालाई
न महान नेतालाई
खेती किसानीकै भरमा चलेको देश
खेती किसानीलाई नै बढावा दिने रे
खेती गर्ने हाथ विदेश भासिएको
थाहा भए पनि थाहा नभएजस्तो
डब्बामा थुनिएर आएका
लासको लाम गनी नसक्दो छ
कसलाई मतलब कसलाई चासो
गफका रकेट छोड्दै फुर्सद भए पो
खानाको खोजीमा
आधा नेपाल रित्तिसक्यो
बाँकी कहिले हिँड्ने हुन्
केही थाहा छैन
जनता नै नभए
कसमाथि राज गर्छौ
कसलाई ठग्छौ
कसलाई मूर्ख बनाउँछौ
कसलाई आफ्नो स्वार्थको भारी बोकाउँछौ
ए बा, ए दाइ, ए कमरेड
चेत है चेत समय घर्की रहेछ
रैतीले तौली रहेछन्
वाक्क दिक्क भए पनि सुनिरहेछन्
लेख्न सक्नेले लेखिरहेछन्
पढ्नेले पढिरहेछन्
तिमिले सुने पो, हेरे पो
पढे पो, बुझे पो
गलतलाई तह लाउँ,
चुनाव आउँंदै छ