काठमाडौँ । बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दाको पेसी तोकिएको छ ।
नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।
उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने छ ।
गत ११ फागुनमा नाबालिक गायिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् ।
अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।
दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्दा लड्ने छन् वा थुनामा नै रहेर उक्त मुद्दा लड्ने छन् । त्यसको छिनोफानो अर्को साता हुने छ ।