काठमाडौँ । सरकारी कर्मचारीले सिंहदरबारको दक्षिणी गेटअगाडि बसेर विरोध गरेका छन् । कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै उनीहरूले सिंहदरबार प्रवेशको मूल गेटमा बसेर पर्चा बाँडेका हुन् । पर्चा सिंहदरबार प्रवेश गर्ने मन्त्री, सांसद, उच्च तहका कर्मचारी तथा सेवाग्राहीलाई बाँडिएको छ ।
Advertisement
नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेटअगाडि पर्चा वितरणको कार्यक्रम राखिएको हो । आज बिहान साढे ९ बजेदेखि सुरू विरोध बिहान साढे १० बजेसम्म हुने भएको छ ।
यसैगरि, भोलिदेखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालयअगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने भएको छ । कर्मचारी संगठनले ११ बुँदे माग राख्दै भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।