काठमाडौं– सन् २०२० को अमेरिकी गायन रियालिटी सो ‘अमेरिकन आइडल’का उपविजेता आर्थर गन अर्थात् गायक दिवेश पोखरेल बिहीबार नेपाल आइपुगेका छन् ।
आर्थरले ‘होम कमिङ टुर’अन्तर्गत यसै महिना काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत शहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।
अमेरिकन आइडल १८औँ सिजनको हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढेको थियो । प्रायः दर्शकले उनलाई अमेरिकन आइडल अडिसनमा गाएको बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स क्लियरवाटर, रिभाइभलको ह्याब यु इभर सिन द रेन गीतले चिन्छन् । उनको प्रस्तुतिलाई सबै निर्णायकहरूले प्रशंसा गरेका थिए । विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘ही इज द बेस्ट’ भन्दै प्रशंसा गरेकी थिइन् ।
उनको भिन्न र अद्वितीय स्वरलाई अन्तर्राष्ट्रिय गायक र कलाकारहरूले प्रशंसा गरेका थिए । उनले आठवटा गीत समावेश गरेर पहिलो एल्बम ‘ग्रहण– २०१८’ रिलिज गरेका थिए । यस्तै, दोस्रो एल्बम, खोज– २०१९ मा म, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका थिए । विश्वभरका दर्शकबाट माया र समर्थन पाएपछि यसको सम्मान गर्दै उनले मातृभूमि नेपाल फर्कने योजना बनाएका थिए । टुबोर्गले ‘ब्रेन सर्भिसिङ’ र ‘एमएन इभेन्ट्स’सँगको सहकार्यमा उनलाई नेपाल ल्याइए्को हो ।