काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत भएका वामदेव गौतमले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् । उनी प्युठानबाट चुनाव लड्ने भएका हुन् ।
विं.सं. ०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छाडेर काठमाडौँ २ बाट चुनाव लडेका थिए । तर, स्थानीय तह निर्वाचनको परिणामले काठमाडौँ २ भन्दा रौतहट १ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट जाने भएका हुन् ।
स्थानीय तह निर्वाचनअनुसार रौतहट १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले १९ हजार ६९८ मत पाएको छ । यस्तै, विं.सं. ०७० मा गौतमले प्युठान १ र बर्दिया १ बाट जितेका थिए । तर ०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया १ बाट चुनाव लडे पनि पराजित भएका थिए ।
तत्कालीन नेकपा विभाजित भएपछि कतै नखुलेका गौतमले केही समयअगाडि नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । प्रतिनिधिसभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।