काठमाडौँ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन् ।
हाल चार–चार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए । “सरुवा भएर गएका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नआउँदा जनशक्ति अभाव भएको हो”, उनले भने, “थोरै कर्मचारीलाई कामको भार पार्नुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन चुनौति भएको छ ।”
मालपोतमा दरबन्दी अनुसारको पदपूर्तिका लागि मन्त्रालय र लोक सेवा आयोगमा माग गरिएको कार्यालय प्रमुख कार्कीले बताए । दुई कम्प्युटर अपरेटर करारका छन् । जनशक्ति अभावका कारण सेवा प्रवाहमा चुनौति देखिएको छ । मोठमा काम गर्ने प्रशासनिक जनशक्ति कम हुँदा जग्गाको अभिलेख भिडाउने र त्यसलाई प्रक्रिया पुर्याउन अन्य फाँटका कर्मचारी परिचालन गरिएको छ । दुई कर्मचारी आवश्यक पर्ने मोठमा एक छन् ।
यसैबीच घरजग्गाको कारोबारबाट मालपोत कार्यालयले एक वर्षको अवधिमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा पाँच करोड चार लाख ८४ हजार नौ सय १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत अधिकृत कार्कीले अघिल्लो वर्षको तुलनामा करिब सात लाख कम राजस्व सङ्कलन भएको बताए ।