नयाँदिल्ली- भारतको ७६ औं स्वतन्त्रता दिवसमा शुभकामना दिन हिन्दी धारावाहिक ‘रामायण’मा सीताको भूमिमा रहेकी दीपिका चिख्लियाले गरेको ट्विट विवादमा परेको छ।
भारतको स्वतन्त्रता दिवसको सन्देशमा पाकिस्तानी प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दा उनी ट्रोल बनेकी हुन्।
सोमबार बिहानै उनले गरेको ट्विटमा पाकिस्तानी प्रधानमन्त्री कार्यालयलाई ट्याग गरिएको थियो। ट्विट गरिएको तस्बिरमा उनी भारतको झण्डा तिरंगा बायाँ हातमा लिएर दायाँ हातले सलाम गर्दै क्यामेरातिर फर्किएकी छन्। तर, ट्याग छ, पाकिस्तानी प्रधानमन्त्री कार्यालय। दीपिकालाई कटाक्ष गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘प्रभु कहाँ हुनुहुन्छ तपाईं ? अब त अवतार लिनैपर्ने भयो।’
दीपिकाले भारतको प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्न खोजेकी हुन सक्छिन्। तर, ट्याग भइदियो, पाकिस्तानी प्रधानमन्त्री कार्यालय। त्यसपछि त के थियो र ! भारतभर उनको आलोचना शुरु भयो। र, दीपिका ट्रोलको शिकार बनिन्।