सिंहदरबार बाहिरको
सीसीटीभीलाई झोंक चलेछ
पर्खालभित्र रहेको आफ्नो इष्टमित्रले
आफ्नो जिम्मेवारी पूरा नगरेको देखेर
झट्टु झारेछ
कामै गर्न सक्दैनस् भने
किन सिंहदरबारको गेटमा
मन्त्रालयको भित्तामा झुण्डिएको छस्
हँ मुर्ख
कुलंघार भइस्
हाम्रो कुलको नाक काटिस्
तेरो नालायकीले गर्दा
बाटोमा हिँड्ने मनुवादेखि
पत्रिकासम्म सुनी नसक्नु छ
बाटोमा मुख देखाउनै गाह्रो भा छ
अस्ति हाम्रो छेउकालाई
ढुंगा हानी फोडिदिएछन्
कसले हो थाहा छैन
मन्त्रालयको सीसीटीभीले
रुँदै भन्यो
ए दाइ सबैले त गाली गरेछन्
तिमीले त कुरा बुझ
मेरो व्यथा सुन
हल्ला भएको सबै तमासा
यही आँखाले देखेकै हो
हेर्न जान्ने र कुरा बुझ्नेलाई
म कहाँ पठाए पो
सबै भन्ने थिएँ
के के गरे
के के बिगारे
देखेको छु भन्दा पनि
छैन भन्न लाए
आँखाले देखेको पनि
नदेखिने बनाए
अहिले सब अपराधको भारी
मलाई बोकाएका छन्
मुखै न देखाउने बनाएका छन्
अब मलाई यहाँ राखे पनि के काम
नराखे पनि के काम
अहिले पनि यो सबै कुरा बुझ्नेलाई
म बसेको ठाउँमा पठाऊ
के सही हो के गलत
सब दूधको दूध
पानीको पानी हुनेछ
चुनाव आउँदै छ
देशलाई यो हालतमा पुर्याउने को हुन्
आफ्नो डाटा बेसमा खोज
हैन भने यसभन्दा ठूला घटना हेर्न
तयार भएर बस