काठमाडौँ । सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बोलाएर गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मिटरब्याजी समस्या समाधान गर्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री खाँणले मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको सदस्यमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान व्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृहका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।
कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण र समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तर निकाय समन्वयजस्ता प्रतिवेदन पेश गर्नेलगायतका आदेश दिइएको छ ।