नयाँदिल्ली- भारतको राजस्थानमा लम्पी भाइरसको संक्रमणबाट किसानले पालेका गाई धमाधम मर्न थालेका छन्।
हालसम्म एक लाख २० हजार ७८२ चौपायामा लम्पी भाइरसको संक्रमण देखिइसकेको छ। तीमध्ये पाँच हजार ८०७ वटा मरेका छन्। उक्त भाइरसको संक्रमण भएका चौपायामध्ये ९० प्रतिशत गाई रहेको अधिकारीहरूले जनाएका छन्।
भारतको स्टेट डिजिज डायग्नोस्टिक सेन्टरका जोइन्ट डाइरेक्टर डा. रवि इसरानीका अनुसार यो क्याप्रिपक्स फ्यामिलीको भाइरस हो। र, त्यसले सिप पक्स र गोट पक्स भाइरसजस्तै चौपायामा छालामा समस्या ल्याउँछ। पशुको छालामा त्यसका कारण आउने घाउमा बसेका झिंगा र लामखुट्टेले अन्य पशुमा पनि संक्रमण फैलाउँछन्।
राजस्थानको बाडमेरा जिल्लाका चौपायामा सबैभन्दा बढी संक्रमण देखिएको छ। संक्रमणमा परेका गाईले खान बन्द गरिदिन्छन्, मुखबाट र्याल चुहाउन थाल्छन् अनि मर्छन्। डा. इसरानीका अनुसार भाइरसले चौपायाको आँत र फोक्सोमा संक्रमण गरेको पाइएको छ।
करिब १० दिनयता राजस्थानका गाउँ–गाउँमा यो भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। र, १६ वटा जिल्लाका चौपाया प्रभावित भएका छन्। बाडमेर, श्रीगंगानगर, जोधपुर, बिकानेरलगायत जिल्लाका घरपालुवा जनावर बढी मरेका छन्। जैसलमेर, जालौर, पाली, सिरोही, चुरु, हनुमानगढ, अजमेर, नागौर, सिकर, झुन्झनु र उदयपुर जिल्लामा पनि भाइरसको संक्रमण फैलिएको छ।
डा. इसरानीका अनुसार भैंसीमा यसको संक्रमण कम देखिएको छ। र, क्रस ब्रिडिङ गरिएका गाई ज्यादा प्रभावित बनेका छन्। रैथाने गाईमा पनि प्रकोप कम पाइएको छ। राजस्थानभरिका गाईमा भाइरसविरुद्धको खोप दिन थालिएको सरकारी अधिकारीहरूले जनाएका छन्। राजस्थानसँग सीमा जोडिएका गुजरातका ग्रामीण इलाकामा पनि यो भाइरसको संक्रमण देखिएको छ।