वासिङटन- अमेरिकामा बैंकको व्याजदर र महँगी थप बढेको छ।
केन्द्रीय बैंक फेडरल रिजर्भले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न व्याजदर बढाएको हो। लगातार दोस्रोपटक व्याजदरमा ०.७५ प्रतिशत वृद्धि गरेको छ।
फेडरल फन्डको लक्ष्य बोरोइङ रेट अर्थात बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणको व्याजदर २.२५ बाट २.५ प्रतिशत कायम गरिएको छ। अर्थव्यवस्थाको मागको स्तर र मूल्यवृद्धि कम गराउन भन्दै केन्द्रीय बैंकले गत मार्चदेखि ऋण लिने लागत बढाइरहेको छ।
तर, त्यसबाट थप मन्दी आउने चेतावनी विज्ञहरूले दिएका छन्। यस साताको आधिकारिक आँकडाबाट लगातार दोस्रो त्रैमासिकमा पनि अर्थव्यवस्था थप कमजोर बनेको देखिने उनीहरूको भनाइ छ।
अमेरिकामा महँगी अहिले ४० वर्षयताकै उच्चस्तरमा छ। फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोमी पावेलको भनाइअनुसार आगामी महिना महँगीमाथि नियन्त्रण पाउन व्याजदरमा बढोत्तरी कायम राखिने छ।