बेइजिङ- कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा पुनः लकडाउन लागू गरिएको छ।
जम्मा चारजना कोरोना संक्रमित भेटिँदा सरकारले लकडाउन घोषणा गरेको हो। यो त्यही शहर हो, जहाँ सन् २०१९ को अन्तिमतिर कोरोनाका पहिलो संक्रमित फेला परेका थिए। पछिल्लोपटक फेला परेका बिरामीमा कुनै लक्षण देखिएको छैन।
सरकारले वुहानका बासिन्दालाई तीन दिन घरबाट बाहिर ननिस्किन आदेश दिएको छ। कोरोना संक्रमित फेला परेको जियाङसियामा करिब १० लाखको आवादी छ। वुहानको एक हिस्सा हो, जियाङसिया।
चीनले ‘जिरो कोभिड’ नीति अपनाउँदै आएको छ। सोही कारण ठूलो समूहमा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय स्तरमा कडा लकडाउनको नीति अख्तियार गरेको छ। सोही कारण बाँकी विश्वको तुलनामा चीनमा कोभिडका कारण हुने मृत्युदर धेरै कम छ।
वुहान नगरभरमा करिब एक करोड २० लाखको आवादी छ, जहाँ सरकारले नियमित कोरोना परीक्षणलाई दैनिक जीवनको एक अंगझैं बनाएको छ। दुई दिनअघि जियाङसियामा दुई नयाँ बिरामी फेला परेका थिए। थप परीक्षणमा थप दुई बिरामी देखिएपछि लकडाउन गरिएको हो।