नयाँदिल्ली- भारतीय संसदको माथिल्लो सदन राज्यसभाका विपक्षी १९ सांसदलाई मंगलबार निलम्बन गरिएको छ। उनीहरूलाई सातादिनका लागि निलम्बन गरिएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार सदनको रोस्ट्रममा पुग्ने, नारा लगाउने गतिविधि गरेपछि उनीहरूलाई निलम्बन गरिएको हो।
निलम्बनमा परेकामध्ये सातजना तृणमुल कंग्रेस, ६ डीएमके, तीनजना टीआरएस, दुई सीपीएम र एक सीपीआईका सांसद छन्। तृणमुल कंग्रेसकी सुष्मिता देव, मौसम नुर, शान्ता क्षत्री, शान्तनु सेन, डीएमकेका केबी शिवादासा, एम शणमुगमलगायत सांसद निलम्बनमा परेका हुन्।
सांसदहरूको नाराबाजीका कारण राज्यसभा बैठक स्थगित भएको छ। निलम्बनको निर्णयप्रति विरोध जनाउँदै तृणमुलका राज्यसभा सांसद डेरेक ओ ब्रायनले भने, ‘नरेन्द्र मोदी र अमित शाहले लोकतन्त्र नै निलम्बित गरिसकेका छन्। सांसदहरू निलम्बनमा परेको के कुरा गर्नु र ?’
हिजो सोमबार पनि संसदको तल्लो सदन लोकसभाका चार सांसदलाई सदन बैठकमै प्लेकार्ड प्रदर्शन गरेका कारण चालु अधिवेशनभरका लागि निलम्बित गरिएको थियो। उनीहरू सबै विपक्ष दल कंग्रेस-आईका सांसद हुन्।