काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेजको भिडियो हेरेका छन् । प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको भिडियो रिकभर गरिएपछि सांसदहरूले भिडियो हेरेका हुन् ।
तर, भिडियोमा केके समावेश भएको भन्ने यकिन हुन सकेको छैन । प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।
यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जानकारी दिएको थियो । त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभर गर्न प्रहरीसँग सहयोग मागेको थियो ।
आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधिसभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गरी करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरी छानविन कार्य अगाडि बढाइएको थियो ।