नयाँदिल्ली- बढ्दो महँगी तत्काल नियन्त्रणमा लिन माग गर्दै संसदमै प्ले कार्ड प्रदर्शन गरेका भारतीय राष्ट्रिय कंग्रेसका चार सांसद निलम्बित भएका छन्।
उनीहरूले सोमबार केन्द्रीय संसदको तल्लो सदन लोकसभामा सरकार विरोधी प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूलाई संसदको वर्षे अधिवेशनभर बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार कंग्रेस सांसदहरू मनिक्कम टैगोर, टीएन प्रथापन, जोथिमन र राम्या हरिदासले महँगीको मुद्दामा आधारित रहेर संसदभित्रै प्रदर्शन गरेका हुन्। लोकसभाका सभामुख ओम बिडलाले उनीहरूलाई चेतावनी दिँदै भने, ‘तपाईंहरूलाई प्ले कार्ड देखाउनु छ भने सदन बाहिर गएर देखाउनोस्। म चर्चाका लागि तयार छु। तर, मेरो नरम रवैयालाई कमजोर नठान्नूस्।’
सभामुख बिडलाको चेतावनीका बावजुद उनीहरू सदनको अर्को बैठकमा फेरि प्ले कार्ड बोकेरै उपस्थित भए। त्यसपछि संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले उनीहरूलाई सदनको चालु अधिवेशनभर उनीहरूलाई निलम्बन गर्न प्रस्ताव गरे। उनको प्रस्ताव ध्वनी मतले पारित भयो।
कंग्रेस पार्टीले आफ्ना सांसदलाई निलम्बन गरिएकोमा विरोधको सूचना दर्ता गराएको छ। कंग्रेसका राज्यसभा सांसद अधीररञ्जन चौधरीले भने, ‘महँगीको मुद्दामा विपक्ष एकसाथ छ। तर, सरकार यस विषयमा छलफल गर्न तयार छैन। सरकारले यस मुद्दामा सदनमा छलफल गराउनुको साटो विपक्षको आवाजलाई धम्क्याउने प्रयासस्वरूप हाम्रा सांसदलाई निलम्बन गर्ने क्रुर कदम उठाएको छ।’