काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ र प्रदेशसभाको निर्वाचन मिति चाँडै घोषणा हुने बताएका छन् ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए । ‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस्,’ उनले भने, ‘निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’
प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे । उनले भने, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’
कोभिड-१९ मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।