वासिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले आफ्नो घर बचाउन हतियार उपलब्ध गराउन अमेरिकी कंग्रेससँग अपील गरेकी छन्।
रुसविरुद्ध युद्ध लड्न आफ्नो मुलुकलाई हतियार अत्यावश्यक भएको उनले बताइन्। अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै गर्दा भावुक बनेकी जेलेन्स्काले आफूहरूलाई कसैको घर भत्काउन नभई आफ्नो घर बचाउनका लागि हतियार अत्यावश्यक भएको बताइन्।
ओलेन्स्काको भावुक अपील त्यतिबेला आएको छ, जतिबेला रुसले अब पूर्वी युक्रेनमा मात्र लडाईं सीमित नगर्ने र अझ अगाडि बढ्ने बताएको छ। ‘म र मेरो मुलुक हतियार मागिरहेका छौं। त्यस्ता हतियार, जसको प्रयोग कसैको जमिनमा युद्ध छेड्न होइन, आफ्नो घरको रक्षाका लागि गरिने छ,’ ओलेनाले भनिन्।
अमेरिका भ्रमणमा रहेकी उनले मंगलबार राष्ट्रपति जो बाइडेन र सोमबार विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गरेकी थिइन्।
रुसले युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण थालेको पाँच महिना बितिसकेको छ। रुसले आक्रमण रोक्ने कुनै लक्षण देखाएको छैन। त्यसैले युक्रेनलाई अधिक सैन्य र हतियार सहायता आवश्यक छ, यतिबेला।
अमेरिकी कंग्रेसले यसअघि युक्रेनलाई ४० अर्ब डलरको सहायताका लागि सहमति दिइसकेको छ। आगामी सेप्टेम्बरसम्ममा उक्त सहायताको सबै हिस्सा युक्रने पुगिसक्नेछ।
अमेरिका यात्रामा जेलेन्स्काले यूएस एजेन्सी फर इन्टरनेसनल डेभेलपमेन्टकी प्रमसख सामन्था पावरसँग पनि भेटवार्ता गरेकी छन्। एजेन्सीले युक्रेन सरकारलाई समर्थन गर्दै मानवीय आवश्यकताका सामग्रीका लागि अर्बौं डलर दिने भएको छ।