नयाँदिल्ली- आज भारतका १५औं राष्ट्रपतिको नाम घोषणा हुँदैछ। नयाँ राष्ट्रपतिका लागि १८ जुलाईमा भएको मतदानको परिणाम आज सार्वजनिक हुनेछ।
बिहान ११ बजेदेखि राष्ट्रपति निर्वाचनको मतगणना शुरु हुनेछ। संघीय संसदका दुवै सदन तथा ३६ वटै विधानसभा सदस्यले नयाँ राष्ट्रपति चयनका लागि मतदान गरेका छन्।
मतगणनाका लागि सबै राज्यका विधानसभाहरूबाट मतपेटिका संघीय संसद भवन ल्याइसकिएको छ। सत्तारुढ भाजपा नेतृत्वको गठबन्धन एनडीएबाट आदिवासी नेतृ द्रौपदी मुर्मू तथा विपक्षी दलहरूको तर्फबाट यशवन्त सिन्हा राष्ट्रपति उम्मेदवार छन्। आदिवासी नेतृ मुर्मू भारतको १५औं राष्ट्रपति बन्ने लगभग निश्चित छ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुनेछ। आज घोषणा हुने राष्ट्रपतिले २५ जुलाईदेखि कार्यभार सम्हाल्ने छन्।
राष्ट्रपति चुनावमा राज्यसभाका २३३, लोकसभाका ५४३ र विधानसभाका ४,०३३ सांसद मतदाता थिए। विजयी हुने उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएको हुनुपर्ने भारतको संवैधानिक व्यवस्था छ।