लन्डन- बेलायतको अति व्यस्तमध्ये एक विमानस्थलको धावनमार्ग अत्यधिक गर्मीका कारण पग्लिएको छ, जसकारण उडान-अवतरण बन्द गरिएको छ।
लन्डनस्थित लुटोन विमानस्थलको धावनमार्ग सोमबार पग्लिएको हो। सोमबार त्यसक्षेत्रको तापक्रम ३७ डिग्री सेल्सियस मापन भएको थियो।
‘उच्च तापमानका कारण धावनमार्ग पग्लिएको छ। धावनमार्ग मर्मत सकिउन्जेलका लागि उडान, अवतरण बन्द गरिएको छ,’ विमानस्थलले विज्ञप्तिमार्फत भनेको छ। लुटोन विमास्थल बन्द हुँदा हजारौं यात्री अलपत्र परेका छन्। हजारौं उडान रद्द भएका छन्।
बेलायती वायु सेनाले आफ्नो ब्रिज नोर्टनस्थित एयरबेसबाट सबै प्रकारका उडान रद्द गरिएको जानकारी दिएको केही समयपछि लुटोन विमानस्थलको सेवा पनि बन्द भएको हो। अक्सफोर्डसायरस्थित सेनाको एयरबेसको पनि धावनमार्ग पग्लिएको छ।
लन्डनका रेल र सार्वजनिक यातायातमा सोमबार र मंगलबार यात्रा नगर्न अधिकारीहरूले लन्डनवासीलाई आग्रह गरेका छन्। सञ्चालनमा रहेका रेलको गति पनि कम गर्न निर्देशन दिइएको छ।
गत शुक्रबार मात्र बेलायतको मौसम विभागले सोमबार र मंगलबार देशका केही भागको तापमान ४० डिग्री पुग्ने चेतावनी दिएको थियो।