पाल्पा । जिल्लामा सडक ठेकदार सुमन पन्थसमेत दुई जनाको साथबाट २० लाख रुपैयाँ लुटिएको छ ।
पन्थ तानसेन नगरपालिका ५ ढुंगाखानीस्थित सडकबाट पूर्वखोला गाउँपालिकास्थित निर्माणाधीन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्यांकी सडकका ठेकेदार हुन् ।
प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका ५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।
सोही क्रममा पन्थसमेत दुई जनालाई अन्दाजी ७–८ जना अपरिचित व्यक्तिले हेल्मेटले कुटपिट गरी नगद तथा कारको चाबी लुटेर भागेका हुन् ।
कुटपिटबाट घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिको खोजी गरी थप अनुसन्धान गरिरहेको छ ।