नयाँदिल्ली- भारतमा सोमबार १५औं राष्ट्रपतिका चुनाव हुँदैछ। १५ औं राष्ट्रपतिका लागि सत्तारुढ भाजपाको गठबन्धनबाट द्रौपदी मुर्मू र विपक्षी दलहरूका उम्मेदवार यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रपति चयन गर्न विभिन्न राज्यका विधानसभाहरूमा मतदान हुनेछ। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मुर्मू आदिवासी समूदायकी नेता तथा झारखण्डकी पूर्वगभर्नर हुन्। विपक्षी दलहरूका उम्मेदवार सिन्हा पूर्वकेन्द्रीय मन्त्री हुन्।
चुनावमा लगभग मुर्मूको जित निश्चितजस्तै देखिएको छ। हालसम्म संख्यात्मक हिसाबबाट उनको पक्षमा माहोल देखिन्छ। कतिपय विपक्षी दलहरूले नै मुर्मूलाई भोट दिने घोषणा गरेका छन्। सोही कारण उनले सहजै दुई तिहाइ मत प्राप्त गर्ने सम्भावना देखिएको छ।
भारतका १५औं राष्ट्रपतिको चुनावको नतिजा २१ जुलाईमा हुनेछ। द्रौपदी मुर्मू निर्वाचित भइन् भने उनी भारतको पहिलो आदिवासी राष्ट्रपति बन्ने छिन्। र, दोस्रो महिला राष्ट्रपति बन्ने छिन्।