मड्रिड- स्पेनले १ सेप्टेम्बरदेखि केही रुटमा रेल सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
तीव्र गतिमा बढेको ऊर्जाको मूल्य र मुद्रास्फितिका कारण स्पेन सरकारको स्वामित्त्वमा रहेका सार्वजनिक यातायातमा यसअघि नै भाडा आधा घटाइएको थियो। अब त्यसलाई सरकारले पूर्ण निःशुल्क गरिने घोषणा गरेको छ।
सेप्टेम्बरदेखि स्पेनका नागरिकले बिनाशुल्क रेल यात्रा गर्न पाउने भएका छन्। प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारी नेटवर्कका सार्वजनिक यातायातका तीनवटा रुटमा शुल्क नलिने घोषणा गरेका छन्। सर्कानियस, रोडालिज र लोकल तथा मध्यम दूरीको यात्रामा १ सेप्टेम्बरदेखि सन् २०२२ भरि शुल्क नलिइने उनले घोषणा गरे।
त्यसमा एकल-यात्रा टिकट तथा लामो दूरीका सार्वजनिक सवारी साधनमा भने उक्त नियम लागू नहुने भएको छ।
नागरिकलाई सुविधा दिन सार्वजनिक यातायातमा सहुलियत दिने स्पेन पहिलो युरोपेली मुलुक भने होइन। यसअघि जर्मनीले ९ युरोमा एक महिनाका लागि अनलिमिटेड यातायात टिकट वितरण गर्दै आएको छ।
युरोपबाट टाढा अस्ट्रेलियाले पनि सन् २०२१ मा भारी सहुलियतसहितको ‘क्लाइमेट टिकट’ वितरण शुरु गरेको थियो। त्यसबाट नागरिकले आफ्ना निजी कार छाडेर सार्वजनिक बसमा यात्रा गर्ने अपेक्षा थियो। ‘क्लिमा टिकट’ नामले चिनिने उक्त सहुलियत एक वर्षका लागि एक हजार २६७ डलरमा उपलब्ध गराउने गरिएको छ।